Friday, December 29, 2017
कलस्सी १:१५ - "सारा सृष्टिको जेठा"
के यसको माने येशू ख्रीष्ट सृष्टि गरिनुभएको थियो भन्ने हो?
जर्ज जेलर
"जेठा" लाई ग्रीकमा प्रोटोटोकोस भनिएको छ।
"सारा सृष्टिको जेठा" को माने ख्रीष्ट सृष्टि गरिनुभएको पहिलो प्राणी भन्ने अर्थमा "जन्मेकाहरूमा पहिलो" हुनुहुन्छ भन्ने होइन। बरु यसले ख्रीष्ट सारा थोकहरूको सृष्टिकर्ता हुनुभएको हैसियतले सारा सृष्टिमाथि रहेको उहाँको परमाधिकार अथवा सर्वोपरिताको अोहोदालाई जनाउँदछ (पद १६)।
सोह्रौं पदको सुरुको शब्द "किनभने" लाई ध्यान दिनुहोस्। पावलले पन्ध्रौं पदमा भर्खरै भनेका कुराको कारण वा व्याख्या गर्न लाग्दैछन् भन्ने कुराको सङ्केत यस शब्दले दिँदैछ। ख्रीष्ट किन सारा सृष्टिका जेठा हुनुहुन्छ त? किनभने उहाँले नै सबै कुराहरू सृष्टि गर्नुभएको हो (पद १६)।
कलस्सी १:१५ मा "जेठा" शब्दले अोहोदाको प्राथमिकतालाई जनाउँदछ, समयको प्राथमिकतालाई होइन। प्रस्थान ४:२२ मा हेर्नुहोस् जहाँ इस्राएललाई परमेश्वरको "जेठा छोरा" भनिएको छ। परमेश्वरले अस्तित्वमा ल्याउनुभएको पहिलो जाति वा राष्ट्र इस्राएल थिएन, तर अोहोदाको हिसाबले परमेश्वरको चुनिएको र विशेषाधिकार प्राप्त जातिको रूपमा इस्राएलको स्थान सबभन्दा उच्च थियो। भजनसङ्ग्रह ८९:२७ मा राजा दाऊदलाई जेठो तुल्याइने कुरा छ, तर दाऊद वास्तवमा यिशैका छोराहरूमध्येमा कान्छा थिए! यो प्रस्ट छ "जेठा" भन्ने शब्द समयमा पहिलो भन्ने अर्थमा प्रयोग गरिएको थिएन। त्यसै गरी कलस्सी १:१५ मा उक्त शब्द सृष्टिमाथि ख्रीष्टको प्राथमिकता र प्रधानतालाई व्यक्त गर्न प्रयोग गरिएको छ। दर्जामा उहाँले सृष्टि गरिएका हरेक कुरालाई माथ गर्नुहुन्छ किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ!
पहिले सृष्टि गरिएको भन्ने माने बोकेको त्यहाँ अर्को ग्रीक शब्द छ (प्रोटोक्टिस्टोस्) तर ख्रीष्टलाई बयान गर्न पावलले उक्त शब्द प्रयोग गरेनन्।
यहोवाका साक्षीहरू (य० सा०) को अङ्ग्रेजी न्यू वर्ल्ड ट्रान्श्लेशन (New World Translation) मा कलस्सी १:१६-१७ मा "other" (अन्य वा अरू) भन्ने शब्द चार पटक थपिएको छ यद्यपि ग्रीकमा त्यो छैन। उनीहरूको धारणा यो हो कि यहोवाले ख्रीष्टलाई सृष्टि गर्नुभयो र उक्त ख्रीष्टले "अरू" सबै प्राणीहरू सृष्टि गरे! तर यो त यूहन्ना १:३ सँग मेल खाँदैन जहाँ भनिएको छ कि हुन आएका सबै कुराहरू ख्रीष्टद्वारा हुन आएका हुन्। यदि ख्रीष्ट एक हुनआएको (सृष्टि गरिएको) प्राणी हुनुहुन्छ भने (जसरी य० सा० ले गलत सिकाउँछन्), यहून्ना १:३ को माने यो हुनेथ्यो कि ख्रीष्टले आफैलाई सृष्टि गर्नुभयो (जुन कुरा य० सा० ले सिकाउँदैनन्)। बरु यूहन्ना १:३ ले सिकाएको कुरा यो हो कि ख्रीष्ट असृजित सृष्टिकर्ता हुनुहुन्छ!
कलस्सी १:१७ ले यो सिकाउँछ कि ख्रीष्ट सबै कुराहरूका अघि हुनुहुन्छ। यदि यहोवाले ख्रीष्टलाई सृष्टि गर्नुभएको हो भने (जसरी य० सा० ले गलत सिकाउँछन्) हामीले यो भन्न सक्थ्यौं कि यहोवा सबै कुराहरूका अघि हुनुहुन्छ। (य० सा० को शिक्षा अनुसार यहोवा ख्रीष्ट सृष्टि गरिनु भन्दा अगाडि हुनुहुन्थ्यो)। तर ख्रीष्ट सबै कुराहरूका अघि हुनुहुन्थ्यो भन्न मिल्दैनथ्यो। यसैले गर्दा हो य० सा० ले "अन्य" भन्ने शब्द घुसाउनुपरेको [ख्रीष्ट (अन्य) सबै कुराहरूका अघि हुनुहुन्थ्यो]। "अन्य" शब्दलाई हटाउने बित्तिकै (जुन शब्द ग्रीकमा छैन र त्यो हटाइनुपर्छ) यस पदले य० सा० को शिक्षालाई काट्छ। येशू ख्रीष्ट अनन्त सृष्टिकर्ता-परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नेहरू यी पदमा कुनै समस्या देख्दैनन् जुन पदहरू ग्रीकमा सठिक रूपमा छन्। "अन्य" भन्ने शब्द घुसाउनुपर्ने कुनै आवश्यकता छैन।
उहाँको वचनमा गलत तरिकाले थपथाप गर्नेहरूलाई परमेश्वरले गम्भीर चेताउनी दिनुभएको छ (प्रकाश २२:१८)।






.jpg)
You are invited to fellowship with GOD.





